३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक प्रस्ताव पारित गरेको छ। सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समितिले बैठकमा प्रस्तुत गरेको समग्र आर्थिक नीतिलाई पारित गरेको हो। केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी प्रस्ताव पारित भएको हो।
समितिले बीपी कोइरालाले अख्तियार गरेको आर्थिक वृद्धिसहितको समानता हासिल गर्न उपादकत्व, समतामूलक लोककल्याणकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलतामा जोड दिने प्रस्ताव गरेको जनाएको छ। सार्थक वित्तीय सङ्घीयता र सदाचारयुक्त आर्थिक सुशासन काँग्रेसको आगामी आर्थिक नीति हुने प्रस्तावमा उल्लेख छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र हरिप्रसाद नेपालले आर्थिक प्रतिवेदनमाथि सुझाव राखेका थिए। यसैबीच मंगलबार बस्ने बैठकमा राजनीतिक प्रस्ताव पेश हुने भएको छ ।