संवैधानिक परिषदको बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७५ मंसिर २५ गते, मंगलवार ११:१४ मा प्रकाशित

नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने बैठकमा न्यायपरिषदले पठाएका दुई न्यायाधीशको नामको विषयमा छलफल हुन लागेको हो ।

बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस स‌ंयोजक चेतन अधिकारीले जानकारी दिए ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ ।

संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।