पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी हेटौंडामैः मुख्यमन्त्री पौडेल

होमल्याण्ड खबर

२०७५ मंसिर २६ गते, बुधबार १५:११ मा प्रकाशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् ।बुधबार रिपोर्टर्सको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘आउने पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरी भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होईन् । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’

मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरी राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे ।

उनले भने, ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ । १३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ । उनले भने ‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो । यो अवधिमा सरकारले के गर्यो भनेर प्रश्नहरु उठेका छन् । होलान् । तर, यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन् । केही समस्याहरु थिए । हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन। कानुनहरु थिएनन् । कानुन नबनाईकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन् । त्यसैले हामीले कानुन बनाउनको लागि प्राथमिकता दिएका थियौं ।’

मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रिय सरकारसँग मुख्य माग भनेको नै केन्द्रिय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाईदिओस् भन्ने नै रहेको सुनाए । उनले भने,‘हामीले जनताले अपेक्षा गरेअनुरुप काम गर्न सकेनौं होला । कामहरु भएनन् होला । तर, साझा अधिकारका सुचिका लागि केही कानुनहरु पहिला केन्द्रले बनाउनुपर्छ । अनिमात्रै हामीले बनाउनुपर्छ । अहिले ६ वटा कानुनहरु केन्द्रले बनाउनुपर्छ ।’

हालै काठमाडौंमा सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले साझा समस्या प्रधानमन्त्रीसामू राखेको पनि उनले जनाए । उनले भने,‘परिषदको बैठकबाट हामीले कार्यदलपनि गठन गरेका छौं । कार्यदलले अब पुस ३ गते आफ्नो प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीसमक्ष बुझाउँछ । र, त्यो प्रतिवेदन बुझाईसकेपछिमात्रै कहाँ–कहाँ के–के कमिकमजोरी छन् ? र कुन तहबाट त्यसको हल गर्नुपर्ने हो ? कुन मन्त्रालयसँग त्यो सम्बन्धित छ ? यी सबै कुराहरु भैसकेपछि अनि सम्बन्धित मन्त्रालयलाई यी समस्या हल गर्न जिम्मा दिने निर्णय भएको छ ।’