कांग्रेस महासमिति बैठकः नाम दर्ता आज, उद्घाटन भोलि

होमल्याण्ड खबर

२०७५ मंसिर २८ गते, शुक्रबार १०:३७ मा प्रकाशित

नेपाली कांग्रेसको महासमिति बैठक आज शुक्रवारदेखि काठमाडौंमा सुरु हुदैंछ ।

विधान संशोधन मुख्य एजेण्डाका साथ सुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तावेजपनि पेश हुदैंछ । पुस ३ गतेसम्म बस्ने उक्त बैठकको उद्घाटन भने शनिवार हुने भएको छ ।

महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ ।

शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् । अढाईघण्टाको उद्घाटन शत्र सकिय लगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ ।

बन्दसत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्ने छन् भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नै छन् । महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्ने छन् । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्ने छिन् ।

वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समुह बनाइने छ । यो समुह बनाइसकेपछि भोलिपल्ट आइतबारदेखि लगातार ती दस्तावेजमाथि छलफल हुनेछ । केन्द्रिय समितिको बाट सर्वसम्बत पास भएर आए पनि फरक धारणा सहित आएपनि पाँचवटै सबै महासमिति बैठकमै पेश हुनेछ । महासमिति बैठकले केन्द्रिय समितिले सर्वसम्मतीले ल्याएको प्रस्तावलाई समेत इन्कार गर्न सक्छ ।

महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागि हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७/९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति, २६ जना सांसद र सबै केन्द्रीय सदस्यहरुले पनि महासमिति बैठकमा भाग लिनेछन् ।

हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रवक्ता शर्माले जानकारी दिए ।

देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बसोबासको व्यवस्था स्वयंले गर्नुपर्ने भएको छ । पार्टीले विहानको खाना र खाजाको मात्र व्यवस्था गर्ने भएको छ ।