३० कार्तिक २०८१, शुक्रबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार बिहान संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन्। अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको निमन्त्रणामा मन्त्री ज्ञवाली आइतबार राति २ बजे अमेरिका प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री पोम्पियोसँग मंगलबार संयुक्तराज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति कार्यालय, अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग पनि छुट्छुट्टै भेटवार्ता गर्नेछन्।
परराष्ट्र सचिव शङ्करदास बैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य–एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श गर्ने कार्यक्रम तय भएको छ।
सचिव बैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी छन्।
विगत १७ वर्षदेखि नेपाल र अमेरिकाका उच्च प्रतिनिधिबीच भेटवार्ता हुन सकेको थिएन। मन्त्री ज्ञवाली पुस–६ गते शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।