माइतीघर मण्डलाबाट अनसनकारीहरु उठाइयो

होमल्याण्ड खबर

२०७५ पुष ३ गते, मंगलवार १०:५७ मा प्रकाशित

जनयुद्धमा राज्य विरुद्ध लड्दा घाइते भई अपांगता भएका ७ जना पूर्व लडाकुलाई गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा उठाइएको छ । सोमबार राति ११ बजे उनीहरुलाई उपचारका लागि भन्दै उठाएर वीर अस्पताल पुर्याइएको थियो ।

बिहीबारदेखि माईतीघर मण्डलामा पुसको चिसोमा अनसनरत उनीहरुका माग पूरा गर्नुको सट्टा बादलले अनसन भंग गर्न उठाउन लगाएका थिए । आफूहरुसंग पटक पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि वाध्य भएर पुसको कठ्याङ्ग्रिदो जाडोमा पनि चिसो छिडीमा सुत्न वाध्य भएको उनीहरुले बताएका थिए ।

उपचार नगर्ने बरु मर्ने

पीडितहरुले आफूहरुले उपचार नगर्ने बरु मर्न तयार रहेको बताएका छन् । गृहमन्त्रीले माग पूरा गर्नुको सट्टा अमानवीय तरिकाले आफूहरुलाई उठाएर ल्याएको भन्दै त्यसको भण्डाफोर गर्न पत्रकार सम्मेलन गर्ने पनि उनीहरुले जनाएका छन् ।

मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बुझिएको छ । सात जनामध्ये एक जनाको अवस्था भने गम्भीर बन्दै गएको छ ।