भोटेकोशी बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौं ल्याइँदै

होमल्याण्ड खबर

२०८२ असार २५ गते, बुधबार १२:३३ मा प्रकाशित

रसुवाको भोटेकोशीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौं ल्याउन लागिएको छ ।

मंगलबार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा चीनको लेन्डे खोला हुँदै एक्कासी बाढी आउँदा भोटेकोशीले बगाएर ९ जनाको मृत्यु भएको थियो । एक जनाको मात्र सनाखत भएको छ ।

उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको छ ।

बागमती प्रदेशका डीआईजी अरुण पौडेलले ती शव र मानव अंगलाई पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बताए । बाढीका कारण अझै १९ जना सम्पर्कविहीन छन् ।