२५ फाल्गुन २०८२, सोमबार
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महाधिवेशनबाट पारित विधानमाथि टिप्पणी गर्नु सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।
जनसंगठनका पदाधिकारी र इन्चार्जहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्ता गतिविधिको प्रतिवाद गर्न निर्देशन दिए ।
‘विधान महाधिवेशनले पारित गरेका केही प्रावधानलाई राष्ट्रिय महाधिवेशनले तत्कालीन आवश्यकताका आधारमा संशोधन गर्न सक्छ,’ उनले भने, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर प्रावधानहरू अनुमोदन गर्ने, तर पछि तिनैमाथि प्रश्न उठाउनु अनैतिक हो ।’ पोखरेलले यस्ता अनैतिक गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।


‘राष्ट्रिय महाधिवेशनले पारित गरेका विषयमा टिप्पणी गर्नु अनुशासनहीनता र अराजकता हो । यस्ता कार्य गर्नेहरूको प्रतिवाद गर्नुपर्छ,’उनले भने । उनले सङ्गठनात्मक अराजकता क्षम्य नहुने भन्दै पार्टी विधानको अवज्ञा नगर्न चेतावनी दिए ।
एमालेको विधानमा एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान संशोधन गरिएको विषयमा विवाद कायम छ।