२५ फाल्गुन २०८२, सोमबार
राप्रपाको अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी उजुरी लिएर निर्वाचन आयोग पुगेका छन् । नवराजलाई साथ दिँदै राप्रपा महामन्त्री डा। धवलशम्शेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।


आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।
सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।