प्रचण्डको प्रश्न- मन्त्री नै खुल्लमखुला डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! बयान कहाँ गएर दिने ?

होमल्याण्ड खबर

२०८२ असार ३० गते, सोमबार १५:१५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाएका छन् ।

सदनमा सम्बोधन गर्दै उनले सरुवा तथा भूमि आयोग पदाधिकारी नियुक्तिमा मन्त्रीले खुलेआम लाखौंको डिल गरिरहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । उनले भने, ‘तपाईंका मन्त्री खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।

उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन । सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो । आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्री व्यस्त छन्।’

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे । उनले भने, ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको शिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ ।’