कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

होमल्याण्ड खबर

२०८२ असार ३० गते, सोमबार १६:०७ मा प्रकाशित

नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कर्णाली याक्स फ्रेन्चाइजसँग प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा आबद्ध भएका छन् । फ्रेन्चाइजले सार्वजनिकरूपमा मल्ललाई स्वागत गर्दै आगामी सिजनमा उनको प्रशिक्षणबाट टिमले उच्चस्तरको प्रदर्शन गर्ने आशा व्यक्त गरेको छ ।

कर्णाली याक्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक तथा क्रिकेट निर्देशकमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । उनको प्रशिक्षण तथा अनुभवले टिमको खेलमा नयाँ उचाइ थप्ने विश्वास गरेका छौँ ।’

गत सिजनको प्रदर्शनले टिमप्रति आशा जगाएको कर्णाली याक्सले दोस्रो संस्करणका लागि मार्की खेलाडीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ ।

टिमले सोमपाल कामीलाई मार्की खेलाडीका रूपमा कायम राख्दै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई पनि निरन्तरता दिएको छ ।