२७ फाल्गुन २०८२, बुधबार
विशेष अदालतमा दायर भएका मुद्दामध्ये करिब ६७ प्रतिशत मुद्दामा कसुर ठहर भएका छन् । अदालतको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०८१/०८२ मा फर्छ्यौट भएका मुद्दामा ६६.९२ प्रतिशत मुद्दामा कसुर ठहर भएको हो ।
गत आर्थिक वर्षमा २१२ वटा मुद्दाको लगत रहेको थियो । जसमा १३० वटा मुद्दा फर्छ्यौट हुँदा ६६.९२ प्रतिशत अर्थात् ८७ मुद्दामा कसुर ठहर भएको विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले बताए । उनका अनुसार ३२.८१ प्रतिशत अर्थात् ४२ प्रतिशत मुद्दामा भने सफाइ भएको छ । लगत रहेका २१२ वटा मुद्दामा ८२ वटा मुद्दा बाँकी रहेका छन् । सम्पत्ति शुद्धीकरणको एउटा मुद्दा भने मुल्तबीमा छ ।


अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ६९ र गत वर्षमा दर्ता भएका मुद्दा १४३ वटा थिए । गत वर्ष विशेष अदालतले १७१ वटा मुद्दा पछ्र्यौट गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ७६.०२ प्रतिशत मुद्दा पछ्र्यौट गर्न सफल भएको छ । तर मुद्दाको लगतको भने ६१.३२ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।
विशेष अदालतमा सबैभन्दा बढी निर्णयगत अनियमितताको मुद्दाको लगत ११० वटा थिए । जसमा ५६ वटा मुद्दा गत वर्ष फर्छ्यौट हुँदा ४८.२१ प्रतिशत अर्थात् २७ वटा मुद्दामा कसुर ठहर भएका छन् भने बाँकी ५१.७८ प्रतिशत निर्णयगत अनियमितताका मुद्दामा सफाइ भएको छ । ५४ वटा मुद्दा बाँकी छन् ।
यस्तै घुस रिसवतका ४३ वटा मुद्दाको लगत रहेकोमा ३४ वटा मुद्दाको फर्छ्यौट भएको छ । फर्छ्यौट भएका ३४ मुद्दामा ८२.३५ प्रतिशत अर्थात् २८ वटा घुस रिसवतका मुद्दामा कसुर ठहर भएका छन् भने १७.६४ प्रतिशत मात्रै मुद्दामा सफाइ भएको छ । ९ वटा मुद्दा बाँकी छन् ।
यस्तै नक्कली प्रमाणपत्रको ४१ वटा मुद्दाको लगत रहेकोमा ३३ वटा मुद्दा गत आर्थिक वर्षमा फर्छ्यौट भएका छन् । ३३ वटा मुद्दा फर्छ्यौट हुँदा ८४.८४ प्रतिशत अर्थात् २८ वटा मुद्दामा कसुर ठहर भएका छन् भने १५.१५ प्रतिशत अर्थात् ५ वटा मुद्दामा सफाइ भएको छ । ८ वटा मुद्दा बाँकी छन् ।
यस्तै गैरकानूनी सम्पत्तिमा १२ वटा मुद्दाको लगत रहेकोमा २ वटा मुद्दा मात्रै पछ्र्यौट भएकोमा दुई वटै मुद्दामा सफाइ भएको छ । १० वटा मुद्दा बाँकी रहेका छन् । यस्तै सम्पत्ति शुद्धीकरणका ४ वटा मुद्दाको लगत रहेकोमा ४ वटै फर्छ्यौट हुँदा ३ वटामा कसुर ठहर भएको छ भने एउटा मुद्दामा सफाइ भएको छ । एउटा पुनरावेदनको मुद्दामा कसुर ठहर भएको छ भने एउटा अदालतको अवहेलनाको मुद्दाको लगत रहेकोमा त्यो मुद्दा बाँकी छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा विशेष अदालतले अदालत स्थापना भएयताकै सबैभन्दा बढी ८८ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको थियो । यति मात्रै नभएर अघिल्लो वर्ष ४४३ मुद्दा पछ्र्यौट गर्ने अदालतले लक्ष्य लिएकोमा लक्ष्यको ११४ प्रतिशत बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको थियो । लक्ष्य लिएको भन्दा बढी मुद्दा फर्छ्यौट पनि विशेष अदालतको इतिहासमा पहिलो पटक भएको छ । अघिल्लो वर्ष ५७५ वटा मुद्दाको लगत रहेकोमा ५०६ मुद्दा पछ्र्यौट भएका थिए । अघिल्लो वर्षका ६९ मुद्दा मात्रै गत आर्थिक वर्षमा सरिआएका थिए ।
गत वर्ष पनि मुद्दा दर्ता संख्यासमेतलाई हेर्ने हो भने फर्छ्यौट संख्या सन्तोषजनक नै रहेको विशेष अदालतका प्रवक्ता समेत रहेका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए । उनका अनुसार विशेष अदालत ऐन, २०५९ को दफा १६ ले मुद्दाको कारबाही किनारा सामान्यतया ६ महिनाभित्र गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष अदालतले ऐनमा भएको यो व्यवस्था बमोजिम प्रतिबद्धताका साथ काम गरिरहेको र र उपलब्धि पनि हासिल गरेको प्रवक्ता लामिछानेले बताए ।
विशेष अदालतको फैसला अनुसार लागको कैद र जरिवाना अनुसार २०३ वर्ष ३ महिना १५ दिन कैद सजाय ३ अर्ब ६४ करोड ६६ लाख ४५ हजार ५४४ रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ । विशेष अदालतमा अब ६ महिना नाघेका ११ थान र ६ महिना भित्रका ७१ थान मुद्दा विचाराधीन अवस्थामा छन् । विशेष अदालते गत वर्ष नै सेवा प्रवाहमा अदालतको इतिहासमा नै पहिलो पटक आइएसओ ९००१ः २०१५ चिन्ह प्राप्त समेत गरेको छ ।
विगत २२ वर्षको इतिहासमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र २०६४ सालपछि आएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेका मुद्दा कारबाही किनारा हुँदै आएकोमा २०८० चैत ३० मा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संशोधन भएपछि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दर्ता गरेको अवस्था छैन ।
२०५९ भदौ ६ गते विशेष अदालत गठन भएको छ । विशेष अदालतले ५ प्रकारका मुद्दाको सुनुवाइ, कारबाही, र किनारा गर्दछ । जसमा गैर कानूनी सम्पत्ति, घुस रिसवत, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धीकरणका मुद्दा हेर्दछ । यस अदालतको क्षेत्राधिकारभित्र ७७ वटै जिल्ला पर्दछन् । राष्ट्र सेवकको परिभाषाभित्र पर्ने सार्वजनिक पदाधिकारी र उनीहरूसँग जोडिएर आउने व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा चल्ने गर्दछ ।