२२ फाल्गुन २०८२, शुक्रबार
साफ यू–२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपाल र आयोजक बंगलादेश आज ९सोमबार० साँझ उपाधिका लागि भिड्दैछन्। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनामा नेपाली समयअनुसार साँझ ६ः४५ बजे शुरु हुने डबल राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगिताको यही खेलले उपाधिको टुङ्गो लगाउन छ।
प्रतियोगितामा सहभागी ४ टोलीले आज आफ्नो अन्तिम खेल खेल्दै छन्। भुटान र श्रीलंका उपाधि दौडबाट बाहिरिसकेका छन्। त्यसैले उपाधि होडमा रहेका नेपाल र बंगलादेशबीचको फाइनल भिडन्तले च्याम्पियन टोलीको टुंगो लगाउनेछ।


हाल बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अङ्कका साथ दोस्रो स्थानमा छ। नेपाललाई उपाधिका लागि जित अनिवार्य छ भने बंगलादेश बराबरीबाटै च्याम्पियन बन्न सक्छ।
नेपालले ५ खेलमा ३० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। फर्वाड पूर्णिमा राई १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छिन् । नेपालकै अर्की फर्वाड मीना देउवाले ७ गोल गरेकी छिन्।
बंगलादेशले २४ गोल गर्दै अपराजित रहेको छ। यसअघिको खेलमा झगडाका कारण तीन खेलको प्रतिबन्ध परेका नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी स्ट्राइकर सागोरिका आजको खेलमा मैदानमा फर्किन सक्नेछन्।
यसअघि नेपाली यू–२० महिला टोली बंगलादेशसँग तीनपटक भिड्दा सबै खेलमा पराजित भएको थियो। सन् २०२३ मा लिग चरणमा ३–१ र फाइनलमा ३–० ले हारेको नेपाल यस संस्करणको पहिलो भेटमा पनि ३–२ ले पराजित भएको थियो।
तर, अब नेपालसँग विगतको बदला लिँदै पहिलोपटक उपाधि जित्ने ऐतिहासिक अवसर छ। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आजको खेलका लागि टोली आक्रामक रणनीतिसहित मैदानमा उत्रने जानकारी दिए।
उनले अन्नपूर्ण पोष्टसँग भने,‘बंगलादेशसँग पहिलो खेलमा कसरी २ गोल खायौँ, त्यसको समीक्षा गरिनेछ। त्यसपछि आक्रामक रणनीतिमा खेल्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ।’
नेपालले अहिलेसम्म साफ यू–२० तहमा उपाधि जित्न सकेको छैन। आजको खेल ऐतिहासिक उपाधि जित्ने सुनौलो अवसर हो। बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ।
आजको पहिलो खेलमा भुटान र श्रीलंकाबीच २ः४५ मा प्रतिस्पर्धा हुनेछ।