३० कार्तिक २०८१, शुक्रबार
मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधबार अन्त्येष्टि गरिने भएको छ ।
कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको मंगलबार बिहान ६ बजे ९३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।
पूर्वप्रधानमन्त्री भए पनि निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेकाले उनलाई सलामी दिइने छैन ।