हाम्रो सनातनी धर्मलाई कसैले खोस्न र मेट्न सक्दैन : विनोद चौधरी

होमल्याण्ड खबर

२०८२ श्रावण १९ गते, आईतवार १५:०८ मा प्रकाशित

नेपाल सनातनी धर्मको मुलुक भएकाले यो धर्मलाई कसैले खोसेर खोस्न नसक्ने कुरा संघीय सांसद विनोद चौधरीले बताएका छन्।

पश्चिम नवलपरासीको सुनवलमा श्रावण १ गतेदेखि ३१ गतेसम्म जारी ॐकारेश्वर राष्ट्रकल्याण विश्व शान्ति श्रावणी महामहोत्सवलाई सम्बोधन गर्दै चौधरीले राजनीतिक र संवैधानिक व्यवस्था आफ्नै स्थानमा भए पनि, नेपाली जनताको पहिचान, आचरण र आत्मासँग जोडिएको सनातनी धर्मलाई कुनै शक्तिले मेट्न नसक्ने धारणा व्यक्त गरे ।

उनले यस्ता धार्मिक आयोजनाले समाजमा सद्भाव, संस्कार र आध्यात्मिक चेतना फैलाउने उल्लेख गर्दै, महोत्सवको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व अत्यन्त गहिरो रहेको बताए। साथै धार्मिक महोत्सवलाई सफल बनाउन चौधरीले १ लाख११ हजार १ सय ११ दान गर्ने बताउँदै धार्मिक महोत्सवको उद्देश्य अनुरुप हरेक कार्यमा जोडिने उनको भनाई थियो ।

तीर्थ प्रचारक अन्तर्राष्ट्रिय कथावाचक बालव्यास श्रवण न्यौपानेको संकल्प र अगुवाइमा सञ्चालन भइरहेको यस महामहोत्सवले, हरिहर ॐकारेश्वर धामलाई धार्मिक ऊर्जा, राष्ट्रप्रेम र सनातनी चेतनाको केन्द्र बनाएको छ। उहाँको कर्म, समर्पण र संस्कृतिप्रतिको आस्था हजारौं भक्तजनहरूको सहभागितामार्फत उजागर भएको छ।