नैतिकता छैन भने राजनीति नगर्न रामहरिलाई शेखरको सुझाव

होमल्याण्ड खबर

२०८२ श्रावण २० गते, सोमबार ११:४६ मा प्रकाशित

 नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार गुराँस पुस्तकालय विराटनगरको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गदै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

नेता कोइरालाले विधेयकमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले हस्ताक्षर गरेकाले विवाद आएपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा नदिएको बताए । कोइरालाले सभापति खतिवडा प्रति आक्रोशित हुँदै नैतिकता नहुनेले राजनीति नगर्दा हुने बताए ।

‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ’ उनले भने ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन ।’ डा कोइरालाले कांग्रेस सरकारमा सहभागी भए पनि अहिलेको सरकार जबाफदेही, पारदर्शी र जनता प्रति उत्तरदायी नभएको आरोप लगाए ।

उनले यो सरकारले प्रेसलाई अङ्कुश लगाउन खोजिरहेको भन्दै प्रेसलाई अङ्कुश लगाउने विषय मान्य नभएको स्पष्ट पारे। डा कोइरालाले सामाजिक सञ्जालमा लेख्दासमेत मुद्दा लाग्ने अवस्था रहेको बताए । उनले मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गरेपछि बोल्नेहरूको बोली बन्द गर्न सकिन्छ भन्ने सरकारको सोचाई रहेको बताए ।

कोइरालाले विराटनगरलाई राजनीतिक आन्दोलनको स्थलका रुपमा स्थापित गर्न फेरि लाग्नु पर्ने अवस्था आएको बताए । उनले भ्रष्टाचार, दण्डहीनता, विरुद्ध आवाज उठाउन विराटनगरवासीलाई आग्रह गरे । कोइरालाले यति वेला प्रजातन्त्र धरापमा परेको, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको स्पष्ट पारे ।

संविधानमा भएको निर्वाचन पद्धतिका कारण कुनै पार्टीको पनि बहुमत नआउने अवस्था रहेको जसका कारण जहिलै पनि मिलीजुली सरकारमै जानुपर्ने बाध्यता रहेको कोइराले बताए । उनले सरकार बनाउने नाममा कांग्रेसले सबै कुरा छाड्दै गएको टिप्पणी गरे ।

उनले अहिले दलका नेताहरूमा सरकारमा जाने सोच मात्रै देखिएको बताए । १० वर्षमा कस्तो नेपाल बनाउने भन्ने सोच कसैसँग नभएको खाली सरकार बदल्ने, कसरी सरकारमा पुग्ने भन्ने सोच मात्रै देखिएको कोइरालाको भनाई छ । कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामासमेत अहिले समस्या देखिन थालेको बताए ।

कार्यक्रममा यो वर्षको मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मानबाट राजनीति तर्फ २१ हजार रुपैयाँ राशीको नगद सहित हरि सापकोटा सम्मानित भएका छन् । यस्तै ११ हजाराै रुपैयाँ राशि नगदसहित समाजसेवा तर्फ मो करिमलाई सम्मान गरिएको छ । यस्तै प्रतिभातर्फ डा प्रमिला गच्छदारलाई सम्मानित गरिएको छ।