‘ए’ डिभिजन लिगः पुलिस र ब्रिगेड ब्वाइजले अंक बाँडे

होमल्याण्ड खबर

२०७५ पुष ४ गते, बुधबार १३:५७ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस र ब्रिगेड ब्वाइजसँग अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले तालिकाको पुछार तिर रहेका ब्रिगेड ब्वाईजसंग १–१ गोलको बराबरी खेलेको हो ।

तेस्रो मिनेटमै रितिक खड्काले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा गोल फर्काएको हो ।

७५औँ मिनेटमा हेम तामाङको पासमा अभिषेक रिजालले पुलिसका लागि बराबरी गोल गरे ।

अंक बाँड्न परेपछि पुलिसको ९ खेलबाट १४ अंक भएको छ । पुलिस तालिकाको पाँचौ स्थानमा यथावत छ । ब्रिगेड ५ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ ।