२४ फाल्गुन २०८२, आईतवार
भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।


पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।
२०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
हिजो भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो ।
यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।
बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।
महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकोले केही दिन भित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, फ्लयार, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक बनाउने तयारी छ ।