लिपुलेकबारे निष्कर्षमा पुग्न प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

होमल्याण्ड खबर

२०८२ भाद्र ५ गते, बिहीबार ११:१० मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिपुलेकमा भारत र चीनको हस्तक्षेपविरुद्ध नेपाल सरकारलाई सशक्त कदम चाल्न आग्रह गरेका छन् ।

गत मङ्गलवार (भदौ ३ गते) भारत र चीनले लिपुलेकलाई दुई देशको नाकाका रूपमा प्रयोग गर्ने सहमति गरेपछि सरकारले विज्ञप्ति जारी गरी यो नेपालको भूभाग भएको र सहमतिबिना प्रयोग गर्न नपाइने चेतावनी दिएको थियो ।

थापाले सरकारको यो कदमको सराहना गर्दै भदौ अन्त्यतिर भारत भ्रमणमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकबारे नेपालको दृष्टिकोण र आपत्ति दृढतापूर्वक राख्न अनुरोध गरे ।

थापाले परराष्ट्र मन्त्रालयले भारत र चीनका राजदूतलाई बोलाएर सम्झौताको विरोध गर्न र आगामी भ्रमणमा यो मुद्दालाई ठोस निष्कर्षमा पुर्‍याउन आग्रह गरे ।

सुगौली सन्धि (१८१६) अनुसार महाकालीपूर्वको भूभाग नेपालको भए पनि भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक अनधिकृत कब्जा गरेको उनले बताए ।

भारतले लिपुलेकलाई विवादास्पद क्षेत्र मानेर वार्ता गर्ने नीति लिए पनि नेपालको सहमति बिना त्रिदेशीय नाकाका रूपमा प्रयोग गर्नु नेपालको सार्वभौमिकतामाथिको आक्रमण भएको थापाको ठहर छ ।