आज हरितालिका तीज पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

होमल्याण्ड खबर

२०८२ भाद्र १० गते, मंगलवार १०:३५ मा प्रकाशित

हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ ।

यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए । केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।