जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ : प्रचण्ड

होमल्याण्ड खबर

२०८२ भाद्र ११ गते, बुधबार १५:०१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जनयुद्ध लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक भएको बताएका हुन्।

‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ’उनले भने।

प्रचण्डले नेपाली जनयुद्धको तयारी केवल मार्क्स, एंगेल्स, लेनिन, माओका ग्रन्थ पढेर नभई नेपालकै विगतका विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा गरिएको स्मरण गरे। उनले भने, ‘जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए।’

अध्यक्ष प्रचण्ड ले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले माओवादी आन्दोलनको मानवीय पक्षलाई विशेष गरी स्मरण गर्दै युद्धका क्रममा कतिपय कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रहेको उल्लेख गरे। उनले विभाजन र अन्तरद्वन्द्वका कारण आन्दोलनको महत्त्वपूर्ण उपलब्धिहरू जनतामाझ पूर्णरूपमा स्थापित गर्न नसकिएको स्वीकार गरे।