२६ फाल्गुन २०८२, मंगलवार
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको संक्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा तीव्र गतिमा फैलिएको संक्रमण पछिल्ला दिनमा घट्ने क्रममा देखिएको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये ११ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।


गत शुक्रबार साँझ तीन जनामा हैजा देखिएकोमा बिहीबार साँझ ५ बजेसम्मको परीक्षण परिणामअनुसार यो संख्या बढेर १४३ पुगेको छ । तर, उपचाररत बिरामीको संख्या भने घट्दै गएको स्वास्थ्य शाखाले जनाएको छ ।
हालसम्म झाडापखाला तथा हैजाका ६१२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए । तीमध्ये ४३४ जना उपचारपछि घर फर्किएका छन् भने १७८ जना उपचाररत छन् । जसमध्ये ६९ जना हैजा संक्रमित रहेका छन् ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रका धाराबाट पानी संकलन गर्दै नियमित परीक्षणलाई तीव्रता दिएको छ । हैजाको स्रोत पत्ता लगाउन र पुनः संक्रमण फैलिन नदिन यो कार्यलाई प्रभावकारी बनाइएको महानगरले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूले दूषित पानी र अस्वच्छ खानेकुराबाट हैजा फैलिने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।