मन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर दिए श्रद्धाञ्जली

होमल्याण्ड खबर

२०८२ आश्विन १ गते, बुधबार ११:४७ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलबार मन्त्री घिसिङ ललितपुर महानगरपालिका–सुन्धारास्थित महर्जनको घर पुगेका थिए । उक्त अवसरमा उनले शहीद महर्जनको परिवारजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गरेका हुन् ।

मन्त्री घिसिङले जेनजी आन्दोलनका क्रममा जीवन आहुति दिने सबै शहीदहरूको बलिदानलाई राष्ट्रले सधैं सम्झिने उल्लेख गर्दै न्याय, शान्ति र लोकतन्त्रका लागि गरिएको योगदानलाई उच्च सम्मानका साथ कदर गर्नुपर्ने बताए ।

शहीद विनोद महर्जनको घरमा पुगेको मन्त्रीस्तरीय उपस्थितिले आन्दोलनका परिवारजनलाई थप हौसला र दृढता प्रदान गरेको स्थानीयले बताए ।