२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग छलफल गरेका छन्।
छलफलमा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा कुराकानी भएको थियो। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताए।


भट्टराईका अनुसार, निर्वाचनसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने विषयमा पनि सहमति भएको छ। उनले भने, “शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा स्वच्छ निर्वाचन गराउन सरकारले आयोगलाई आवश्यक सहयोग गर्ने र आयोगले पनि पूर्वतयारीका सबै पक्षमा प्रभावकारी रूपमा काम गर्ने समझदारी भएको छ।
यो प्रारम्भिक चरणको छलफल भएकाले आगामी दिनमा थप चुनौतीका विषयमा पनि छलफल गरिने उनले जानकारी दिए। निर्वाचनसँग जोडिएका विषयमा आयोग र सरकारबिच सहकार्य गरी अघि बढ्ने सहमति भएको छ।
आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सरोकारवाला निकायहरूसँग छलफल सुरु गरेको छ।