ओलीलाई पक्राउ गर्दा एमालेका साढे ६ लाख कार्यकर्तालाई राख्न सरकारले जेल बनाउनुपर्छ : अखिल

होमल्याण्ड खबर

२०८२ आश्विन २२ गते, बुधबार १६:१३ मा प्रकाशित

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपाल एनजीओका संस्थापक सुधन गुरुङविरुद्ध देशैभर जाहेरी दिने तयारीमा एमाले निकट विद्यार्थी संगठन अखिल लागि परेको छ ।

जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र बर्दीमा भएका प्रहरीहरुको हत्याको पछाडि मेयर शाह र गुरुङ कारक रहेकाले जाहेरी दिन लागिएको अखिलका महासचिव दिपक धामीले बताए ।

हिजो मात्रै गुरुङ र उनी निकट व्यक्तिहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई कारबाही माग गर्दै काठमाडौं प्रहरी परिसर, भद्रकालीमा जाहेरी बुझाएका छन् । लगत्तै अखिलका निवर्तमान अध्यक्ष समिक बडाल र महासचिव धामीको टिमले शाह र गुरुङ विरुद्ध पनि जाहेरी दिए ।

तर, आफूहरुले शाह र गुरुङविरुद्ध दिएको जाहेरी कुनै पनि खालको काउन्टर जाहेरी भने नभएको धामीले बताए । उनले भने, ‘हामीले कसैलाई काउन्टर दिनुपर्ने केही छैन । विधिको शासनको सन्दर्भमा अराजकता सृजना गर्ने, हत्या हिंसा र लुट मच्याउनेहरु विरुद्ध हामीले जाहेरी दिएका हौं । उनीहरुले दिएका हिंसा भड्काउने अभिव्यक्ति, गोप्य बैठकमा भएको कुराकानी र अन्य प्रमाणहरु प्रहरीलाई बुझाइसकेका छौं ।’

साथै देशभरका सम्पदाहरुमा भएका आगजनीको प्रमुख कारण शाह र गुरुङका अभिव्यक्ति र गतिविधि रहेको धामीको दाबी छ ।

‘सुधन गुरुङ र उनको टिमले भन्दा पहिल्यै किन जाहेरी दिनुभएन ?’ भन्ने प्रश्नमा धामीले थपे, ‘अगाडिदेखि नै हाम्रो तयारी थियो । प्रमाणहरु संकलन गर्न समय लाग्यो । हिजो उहाँहरुले (गुरुङको टिम) भन्दा अगाडि हामीले समय लिएका थियौं । हाम्रो जाहेरी कसैसँग प्रतिशोध साँध्नलाई होइन ।’

ओलीलाई पक्राउ गर्ने विषय भने अलग रहेको धामीको भनाइ छ । राज्यको प्रमुख भएकै हिसाबले त्यस्तो गलत कदम चाल्ने हो भने फरक परिस्थितिको सृजना हुने उनले बताए ।

‘देशमा विभिन्न आन्दोलन भएका छन् । पूर्वराजा ज्ञानेन्द्रको पालामा पनि धेरै मान्छे मरे । अब उनलाई पक्रेर जेल हाल्ने हो र ?,’ धामीले भने, ‘सुरक्षा निकायको प्रक्रिया के छ, कसरी सुरक्षा निकायको संयन्त्रहरु चल्छन्, पहिले त्यो थाहा पाउनुपर्छ ।’

यदि ओलीलाई प्रतिशोधपूर्ण तरीकाले पक्रने हो भने सरकारले जेल बनाउन सुरु गर्नुपर्ने धामीले बताए ।