सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री

होमल्याण्ड खबर

२०८२ आश्विन २६ गते, आईतवार १६:४५ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरूले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे ।

उनले सबै सञ्चारकर्मीहरूलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए । मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि बताए ।