इजरायलले औपचारिक जानकारी दियो – विपिन जीवित छैनन्

होमल्याण्ड खबर

२०८२ आश्विन २७ गते, सोमबार ११:३२ मा प्रकाशित

इजरायलले हमाससँगको युद्धमा बेपत्ता पारिएका नेपालका विपिन जोशी जीवित नरहेको जानकारी गराएको छ ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा भएको हमास आक्रमणमा परी बेपत्ता भएका नेपालका विपिन जोशी जीवित नरहेको इजरायलले नेपाली राजदूतावासलाई औपचारिक जानकारी दिएको छ । इजरायलस्थित नेपाली राजदूतावासलाई इजरायलीपक्षले जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत धनप्रसाद पण्डितले नेपालभ्युजलाई टेलिफोनमा जानकारी दिएका छन् ।

सोमबार बिहान इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले राजदूत पण्डितलाई सम्पर्क गरी उनी जीवित नरहेको जानकारी गराएको हो । ‘आईडीएफका तर्फबाट सम्पर्क गरी विपिन जीवित नरहेको खबर भएको छ । भिडियो कन्फरेन्समा विपिनको परिवारलाई समेत जोडेर यस विषयमा सामूहिक जानकारी इजारयलले गरेको छ,’ राजदूत पण्डितले भने, ‘मृत्युपछिका बाँकी कामका लागि भने केही समय पर्खिन अनुरोध आएको छ । उनीहरूले सकेसम्म मृतकको शव उपलब्ध गराउने र नभए कसरी मृत्यु भएको हो भन्ने विषयमा जानकारी गराउने बताएका छन् ।’

हमास इजरायल शान्ति वार्तापछि आज दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई छाड्दै छन् । हमासले छाड्न लागेका २० जनाको नाम यसअघि नै सार्वजनिक भइसकेको थियो । तर अन्तिम समयसम्म पनि विपिन जीवित रहेको अपेक्षा गरिए पनि अब इजरायलले औपचारिक जानकारी गराएसँगै यो आशा समाप्त भएको छ ।

जोशी सन् २०२३ को २३ नोभेम्बर सिफा अस्पतालमा जीवित देखिएका थिए । त्यतिबेलासम्मका भिडियो सामग्री पनि सार्वजनिक भएका थिए ।

इजरायल र हमासबीच लामो युद्धपछि अन्ततः युद्धबिराम लागू भएको छ । दुबै पक्षबाट बन्दीहरूको अदल–बदल भइरहेको छ । आज मात्रै हमासले कब्जामा रहेका २० जना बन्दीहरू रिहा गर्दैछ ।

लामो प्रतीक्षामा थियो नेपाल र परिवार
सुदूरपश्चिमको कञ्चनपुरका विपिन दक्षिणी इजरायलकोे किबुत्ज अलुमिममा अध्ययनरत थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा उनी बेपत्ता भए । त्यसयता उनको अवस्था अज्ञात थियो।

विपिन घटनाको दिन भिडियो र तस्बिरहरूमा अन्तिम पटक किबुत्ज क्षेत्रमा देखिएका थिए ।

नेपाल सरकारले हमाससँग प्रत्यक्ष संवाद सम्भव नभएकाले इजरायली र कतारी सरकारमार्फत विपिनको अवस्थाबारे जानकारी खोज्ने प्रयास बेला बेलामा गरेको थियो । तर पनि सफलता भने मिलेन । यसअघि कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको युद्धबिराम सम्झौतामा ‘विदेशी नागरिकहरूलाई प्राथमिकतामा राख्ने’ भनिए पनि नेपालले खोज्दै आएको विपिनको नाम उक्त सूचीमा परेन ।

कञ्चनपुरस्थित विपिनको परिवारले हरेक बिहान नयाँ समाचारको आशा गर्छ । उनको परिवार विपिन फर्किन्छ भन्ने विश्वासमा छ ।

इजरायल र हमासबीच युद्धबिराम भएपछि दुबैतर्फबाट बन्दी रिहा हुँदैछन् । हमासको कब्जामा रहेका २० बन्दीहरू केहि बेरमा रिहा हुँदैछन् तर त्यो सूचीमा नेपालका विपिन भने छैनन् ।

अन्तराष्ट्रि रेडक्रस समितिको रोहबरमा हमासले बन्धक र इजरायलले प्यालेस्टाइनी कैदीहरू रिहा गरेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विपिन लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

७ अक्टोबर २०२३ मा विपिन वेपत्ता पारिएका थिए । इजरायल पुगेको २५ दिनमै हमासको आक्रमण गरेपछि विपिन सम्पर्कविहीन भएका थिए भने सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थी मारिएका थिए ।

विपिन जोशीको अवस्था पत्ता लगाउन र रिहाइको पहल गर्न भन्दै नेपाल सरकारदेखि अन्तराष्ट्रिय समूदायले आवाज उठाएको थियो ।

विपिनको अवस्था पत्ता लगाउन र रिहाइको पहल गर्न भन्दै सरकार दबाब दिन बिभिन्न समयमा प्रदर्शन पनि भए । यसबीचमा बनेका सरकार र परराष्ट्रमन्त्रीहरूले पनि विपिनको खोजीका लागि प्रयास भइरहेको आश्वासन पनि दिए ।

एक बर्षअघि तात्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह पनि गरेकी थिइन् ।

असंलग्न राष्ट्रहरूको संगठन नामको मन्त्रीस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले भनेकी थिइन्, ‘नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा छ ।’

इजरायली गुप्तचर अधिकारीहरुले असोज २३ गते विपिनको एउटा भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेका थिए । तर उनको त्यो भिडियो भने पुरानो थियो ।

उनी हमासको नियन्त्रणमा परेका बेला आफ्नो परिचयसहित इजरायल आएको उदेश्यका बारेमा उनले भिडियोमा भनेका थिए । विपिनको परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको थियो ।

यसअघि विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए ।

त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारले कूटनीतिक प्रयास गरेपनि त्यसमा खास प्रगति देखिएन ।

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग पनि भेटेका थिए । विपिनको खोजीको लागि इजरायल पुगेर आमा पद्‍मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका थिए । भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् ।

विपिनको रिहाइका लागि इजरायल पुगेर आएका आमा र बहिनीले तात्कालिन प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेका थिए । त्यसबेला उनले विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको पनि उल्लेख गरेका थिए ।