अहिले देश संवैधानिक मार्ग भन्दा बाहिर छ : महेश बर्तौला

होमल्याण्ड खबर

२०८२ आश्विन २९ गते, बुधबार १२:४७ मा प्रकाशित

 नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । अन्तरिम सरकार गठन नै असंवैधानिक रूपमा भएको र संसद् विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको उनले बताए ।

बुधवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए । जेनजीका राम्रा विषयहरू समेटेर जाने माध्यम भनेकै संसद् रहेकाले संसद् पुनर्स्थापना जरुरी रहेको उनले बताए ।

सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप उनले लगाए । राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनताका बिचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बर्तौलाले बताए ।

उनले राजनीतिक दलहरूसँग संवादहीनतामा सरकार रहेको बताए । लुटिएका हतियार खोजी गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाएको उनको आरोप छ ।