प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

होमल्याण्ड खबर

२०८२ आश्विन ३० गते, बिहीबार १३:५२ मा प्रकाशित

अहिलेका सीमित पदाधिकारीहरूबाट निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षसहित सरकार निर्वाचन आयोगमा रिक्त पदाधिकारीको नियुक्ति गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि प्रधानमन्त्री सुशीला कार्कीको टिमले आयोगमा सबै पदाधिकारीहरूको पदपूर्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘प्रधानमन्त्रीज्यू निर्वाचन आयोगमा सबै पदाधिकारीहरू चाहिने रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको छ, अहिलेको अवस्थाबाट मात्रै अघि बढ्दा कठिनाइ हुने देखिएको छ’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘कुन ढाँचामा कसरी नियुक्ति गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर प्रमुख निर्वाचन आयुक्त नियुक्ति हुनुपर्ने देखिएको छ ।’

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्तको पद रिक्त छ । दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल सकेर ५ वैशाख, २०८२ मा अवकाश भएदेखि प्रमुख निर्वाचन आयुक्त पद रिक्त छ ।