२३ फाल्गुन २०८२, शनिबार
अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।
सो अवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे।


साथै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने बताए। साथै, नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए ।
त्यसैगरी उनले इपीएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको र सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।