एमालेमा कसरी छनोट हुँदैछन् २ हजार १२७ प्रतिनिधि ?

होमल्याण्ड खबर

२०८२ कार्तिक २१ गते, बिहीबार ११:४५ मा प्रकाशित

नेकपा एमालेको ११ औँ महाधिवेशन अबको पाँच सातामा हुँदैछ । एमालेले उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते एकैदिन गर्दैछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् त्यसको मापदण्ड र आधार पार्टीले तय गरिसकेको छ । त्यस आधारमा मङ्सिर २७–२९ काठमाडौँमा हुने महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

एमालेले जारी गरेको पछिल्लो अन्तर पार्टी निर्देशन (अपानि) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय खुलाएर मातहतका कमिटीलाई पठाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी सदस्यताको सङ्ख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्टाएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ ।

‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको सङ्ख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ,’ डा.अधिकारीले भने, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज,पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जस अनुसार केन्द्रीय कमिटीबाट ३५५,अनुशासन आयोग २९,निर्वाचन आयोग ३०,लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।

यसैगरी, स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीहरूबाट कम्तीमा दुईजना महिला सहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठुलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले सङ्घीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ ।

यसरी १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिला सहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् । सङ्घीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतम १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने । ’