२२ फाल्गुन २०८२, शुक्रबार
नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ एन्फासँगको बार्ता वहिस्कार गरेको छ ।
एन्फामा सोमबार दिउँसो १ बजे वार्ताका लागि बोलाइएको थियो । एन्फाले ए डिभिजन लिग गर्न नसक्ने जनाउँदै पत्रकार सम्मेलन गरेपछि फुटबल खेलाडीहरु आन्दोलित हुँदै गेटमा धर्ना दिन पुगेका थिए । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले केही दिन अघि गेटमा खेलाडीहरुका मेडल झुन्डाएको थियो ।


त्यतिबेला एन्फाका प्रवक्ता सुरेश शाहले वार्ता मार्फत समस्या समाधानका लागि आफ्नो पहल हुने बताएका थिए । त्यतिबेला अध्यक्ष सहितका पदाधिकारीलाई खेलाडीले भेट्न नपाए पछि फर्किएका उनीहरुलाई वार्ताका लागि बोलाइएको हो । एन्फा पुगेका खेलाडीले प्रत्यक्ष प्रशारण गरेर वार्ता गर्नु पर्ने अडान राखेका थिए । त्यसपछि वार्ता हुन नसकेको एन्फाले जनाएको छ । खेलाडीहरुले महासचिव किरण राईलाई ७ बुँदे ज्ञापनपत्र पनि बुझाएका छन् ।
यता, एन्फा प्रवक्ता सुरेश शाहले वार्ताका लागि खेलाडीहरु आए पनि आज हुन नसकेको बताए । खेलाडीहरुले वार्ताका लागि प्रत्यक्ष प्रशारण गर्न माग गरेको बताउँदै त्यसका लागि वैधानिक व्यवस्था नभएको बताए । उनले खेलाडीसँगको वार्ता आजै भंग भएको नबुझ्न पनि आग्रह गर्दै कार्यसमितिमा छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने नेप्लेजलाई जानकारी दिए । कार्यसमितिको बैठक बोलाउनेबारे सचिवालयमा छलफल हुने पनि बताए ।
खेलाडीहरु अहिले ए डिभिजन लिग फुटबल प्रतियोगिता हुनुपर्ने माग राखेर आन्दोलनमा छन् । ए डिभिजन लिग झन्डै ३ वर्षदेखि हुन सकेको छैन ।
खेलाडीहरुले भोलि मंगलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग छलफल गर्ने बुझिएको छ ।