२५ फाल्गुन २०८२, सोमबार
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको हो । कार्यक्रममा कार्कीले प्रहरीको मनोबल बढाउँदै अगाडि बढाउने बताए। उनले संगठनमा सुढृढ नेतृत्व र सामुहिक भावनाअनुसार अगाडि बढाउने बताए। उनले आफूले पाएको जिम्मेवारी पारदर्शिताका साथ पूरा गर्ने धारणा राखे।


आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका थिए।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखको जिम्मेवारीमा थिए। जेन–जी आन्दोलनपछि अस्तव्यस्त भएको उपत्यकाको कमाण्ड सम्हाल्न उनले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
नवनियुक्त महानिरीक्षक कार्की ०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । त्यसको ६ महिनापछि उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् । २०२९ साउनमा गुल्मीको मालिका गाविसमा जन्मिएका कार्की प्रहरी संगठनमा कुशल र क्षमतावान प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । उनलाई आईजीपी बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सिफारिस गरेका थिए ।
महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए । उनीहरूमध्ये कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।
उनी २०६६ मंसिरमा डीएसपीमा बढुवा भएका थिए । २०७४ साउनमा एसपीमा बढुवा भएका उनी २०७९ साउनमा एसएसपी बनेका थिए । २०८१ कात्तिक डीआईजीमा बढुवा भएका उनी २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए ।