मधेसमा आज पनि ७ दलको धर्ना

होमल्याण्ड खबर

२०८२ मंसिर १ गते, आईतवार १४:०२ मा प्रकाशित

मधेस प्रदेशमा ७ राजनीतिक दलले आज पनि धर्ना जारी राखेका छन् । उनीहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

उनीहरू आज राष्ट्रिय झन्डासहित धर्नामा बसेका हुन् । आज सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ समेत हुँदैछ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले आन्दोलन तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए । उनले भने, ‘मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने अपेक्षा छ, सो फैसला मधेसी जनताको पक्षमा आउँछ भन्ने विश्वास छ ।’

सर्वोच्च अदालतको निर्णयलाई आफूहरूले सम्मान गर्ने बताउँदै उनले ७ दलीय गठबन्धनले अगामी आन्दोलनका स्वरूपबारे छलफल गरिरहेको जानकारी दिए । ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस), र नागरिक उन्मुक्ति पार्टी समावेश छन् ।