आजदेखि संघीय संसदको हिउँदे अधिवेशन

होमल्याण्ड खबर

२०७५ पुष ११ गते, बुधबार १०:४७ मा प्रकाशित

संघीय संसदको हिउँदे अधिवेशन आज बुधबार बुधबारदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुसार संघीय संसदको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो ।

आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।

बुधबार प्रतिनिधिसभामा दुई वटा बैठक बस्दैछ । बुधबार दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा भने संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक पारित गरिने कार्यसूची छ ।

आजै बस्ने राष्ट्रियसभामा बैठकमा पनि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने छ ।

यस्तै राष्ट्रियसभा बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय रहेको छ ।