२४ फाल्गुन २०८२, आईतवार
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि शनिबारसम्म प्रतिनिधि छनोट गरिसक्ने भनिए पनि कर्णालीका ६ वटा क्षेत्रको अन्तिम परिणाम अझै आउन सकेको छैन । प्रतिनिधि बन्नका लागि अकाङ्क्षीहरूबिच तीव्र प्रतिस्पर्धा चलेका कारण तोकिएको समयमा टुङ्गो लाग्न नसकेको हो ।
हालसम्मको विवरण अनुसार सुर्खेत क्षेत्र नम्बर १, दैलेखका दुई वटा निर्वाचन क्षेत्र, कालिकोट, मुगु र हुम्लामा प्रतिनिधि छनोटको टुङ्गो लाग्न बाँकी छ । नेताहरूले सर्वसम्मत विधिबाट प्रतिनिधि छनोटको प्रयास गरे पनि आकाङ्क्षीहरूको व्यवस्थापनमा कठिनाइ भइरहेको छ । कतिपय क्षेत्रमा नेतृत्वले आफू निकटका व्यक्तिलाई प्राथमिकता दिएको आरोपसमेत लागेको छ ।


एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले अकाङ्क्षीहरूको लर्को लागेकाले व्यवस्थापनमा समय लागेको बताए । उनले भने, ‘हामीले सकभर सर्वसम्मत विधिबाटै टुङ्ग्याउन खोजेका छौँ । जान खोज्ने नेताहरू धेरै र कोटा कम हुँदा ढिलाइ भएको हो ।’
उनले आइतबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा आउने दाबी गरे ।
यस्तै, प्रदेश कमिटीबाट छनोट हुनुपर्ने ५ जना प्रतिनिधिको टुङ्गो पनि लाग्न बाँकी छ । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधि बन्नका लागि अकाङ्क्षीहरूबिच होडबाजी छ । दैलेख क्षेत्र नम्बर २ मा ८ जना प्रतिनिधि छनोट गर्नुपर्नेमा ५९ जना अकाङ्क्षी देखिएका छन् । जसमा ४० वर्ष मुनिका युवामा १७, महिलामा १२ र खुलातर्फ ३० जनाको दाबी छ ।
केन्द्रको निर्देशन सर्वसम्मत गर्ने भए पनि तल्लो तह (ग्रासरुट) बाट अकाङ्क्षीहरूबिच धेरै हुँदा समस्या भएको एक नेताले बताए । हुम्लामा पनि उस्तै समस्या छ । कर्णाली प्रदेशबाट समग्रमा करिब ११५ जना प्रतिनिधि छनोट हुनेछन् ।