२३ फाल्गुन २०८२, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले मतदानको तयारी भइरहेको बताए ।
प्राविधिक तयारी पूरा गर्न केही समय लाग्ने भएकोले मतदानमा केही ढिलाइ हुने देखिएको छ । यससँगै पार्टीका नेता–कार्यकर्ता मत माग्न व्यस्त देखिएका छन् ।


कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।