२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसले सरकारले चुनावको वातावरण बनाउन नसकेको कारणले संसद् पुनर्स्थापनाको विषयलाई पनि विकल्पको रूपमा राखेको जनाएको छ।
प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले औपचारिक निर्णय नगरेपनि विकल्पको रूपमा सोचेको बताए।


उनले भने, ‘हामीले निर्वाचनमा जाने निर्णय औपचारिक रूपमा गरिसकेका छौँ। तर सरकारले त्यो वातावरण अझै बजाउन सकेको छैन। फागुन २१ मा निर्वाचन नभए देश थप अन्योलमा फस्छ। त्यसैले चुनाव पनि नहुने, संसद् पुनर्स्थापना पनि नहुने भन्ने हुँदैन।’
उनले सरकार चुनावी वातावरण अहिलेसम्म बनाउँदै नसकेको आरोप लगाए।
उनले थपे, ‘सङ्कटको बेलामा देशलाई निकास दिनुपर्छ भनेर असंवैधानिक भएपनि हामीले चुनावमा जाने निर्णय गरेका हौँ। अहिले पनि हाम्रो प्राथमिकता चुनाव नै हो। हामीले तयारी अघि बढाइसकेका छौँ। तर सरकार गम्भीर बनेन।’
संसद् पुनर्स्थापनाको विषयमा पार्टीभित्र एकमत नदेखिएको हो रु भन्ने जिज्ञासामा उनले भने, ‘पार्टीले निर्णय नगरेकाले व्यक्तिगत धारणा आउनु स्वाभाविक हो। अहिले साथीहरूले त्यही अनुसारको तयारी गरिराख्नुभएको छ।’