२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।
राष्ट्रिय एकता र मेलमिलापको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दैं उनले विशेष महाधिवेशनको पक्षमा आफूलाई साथ दिन आह्वान गरेका छन् ।


उनले भनेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’
गगनले आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंहलगायतका नेता नेपाल फर्किएको दिनको स्मरण गरेका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको गगनले बताएका छन्।
उनले भनेका छन्, ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’
गगनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगानुकूल जिम्मेवारी रहेको उल्लेख गरेका छन्।