९ मंसिर २०८१, आईतवार
एजेन्सी । फिलिप एन्डरसनले ६ मिनेटको बीचमा दुई गोल गरेपछि सुरुमा गोल खानाका बावजुद वेस्ट ह्यामले उत्कृष्ट पुनरागमन जनाउँदै बिहीबार राती साउथह्याम्पटनमाथि २–१ को जित हालिस गरेको छ ।
सेन्ट मेरिज रंगशालामा पाएको यो जितपछि वेस्ट ह्याम इङलिस प्रिमियर लिग अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि नाथान रेडमन्डले ५०औं मिनेटमा घरेलु टोली साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । आफ्नै प्रहार विपक्षी गोलकिपर लुकास फाबियान्स्कीले फर्काउँदा प्राप्त बललाई रडमन्डले गोलमा परिणत गरेका थिए । तर वेस्ट ह्यामले पुनरागमन जनाउन तीन मिनेट पनि कुरेन । ५३औं मिनेटमा एन्डरसनले २० यार्डबाट प्रहार गरेको कडा बल विपक्षी गोलकिपर एलेक्स म्याककार्थीलाई बिट गर्दै गोलमा परिणत भएपछि वेस्ट ह्यामले खेल बराबरीमा ल्यायो ।
९ मिनेटको बीचमा तीन गोल भएको खेलमा एन्डरसनले ५९औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरे । मिचेल एन्टोनियोले दिएको पासलाई एन्डरसनले कडा सटमा गोल गर्दै वेस्ट ह्यामलाई जित दिलाएका थिए ।