दिउँसो फेरि बस्ने गरी सकियो कांग्रेसको बैठक

होमल्याण्ड खबर

२०८२ पुष २९ गते, मंगलवार १२:४४ मा प्रकाशित

नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए । ‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं । उहाँहरुले सुन्नुभयो । एजेण्डागत रुपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ ।’

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।