गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै

होमल्याण्ड खबर

२०७५ पुष १५ गते, आईतवार १०:२९ मा प्रकाशित

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

आज देश बिदेशमा रहेका गुरुङ समुदायहरुले विभिन्‍न कार्यक्रम गरि हर्सोल्लासका साथ मनाउदै छन् ।

हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकोले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ ।