कांग्रेस विभाजनले निर्वाचनलाई असर पर्दैन : प्रचण्ड

होमल्याण्ड खबर

२०८२ माघ ३ गते, शुक्रबार १५:५२ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् । शुक्रबार (माघ २) चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताए ।

निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोगलगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे ।

सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए । प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अरु कुनै विकल्प नभएको भन्दै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जिर्ण भवनवाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताइन् । ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको महानगरले जनाएको छ । हिमालयन टेलिभ्वायस