संरचना निर्माणमा रैथाने प्रविधिमा जोड दिनुपर्छ: सुनिता डंगोल

होमल्याण्ड खबर

२०८२ माघ ३ गते, शुक्रबार १६:१६ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भवन निर्माण संहितामा विशेष ध्यान दिन सके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताए । उनले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभई हरेक नागरिकको रहेको बताए ।

भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने बताए । रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर गरे ।

उनले भने ‘सूचना प्रविधिको प्रयोगले भूकम्पको पूर्व सूचना प्रणालीसहित बचाउका उपायहरू प्रयोग गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भवन निर्माण संहिता रहेको छ । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्रै होइन, यो नागरिकले नै सरकारको कार्यक्रम भनेर सोचिदिने भन्दा पनि हाम्रा लागि हामीले मान्नुपर्ने काम हो भनेर आत्मसमिक्षा गर्नुपर्ने हुन्छ । यो दायित्वभित्र हामी नै हौँ भनेर बुझ्न जरुरी छ । हामीले हाम्रा संरचना पूर्ण रूपमा इन्जिनियरिङ पाटो पनि छोड्नु हुँदैन र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्छ । विशेष गरी रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको छ ।’

उपप्रमुख डंगोलले नारामा मात्र नभई पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिए । उनले प्रत्येक वर्ष नारामा मात्र नभई नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए ।