इलामका स्थानीयसँग बालेनको भलाकुसारी

होमल्याण्ड खबर

२०८२ माघ ९ गते, बिहीबार १२:५६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले आगामी निर्वाचनको माहोल बुझ्न र पार्टीको रणनीति तय गर्न इलाम हुँदै ताप्लेङसम्मको यात्रा तय गरेका छन्।

उनले बिहान इलामका स्थानीयहरूसँग छलफल तथा भलाकुसारी गरेका हुन्। इलाममा बालेन चियाबारी कटेजबाट टुँडिखेलसम्म करिब ४५ मिनेट पैदल यात्रा गर्दै स्थानीय सर्वसाधारण, युवा र बालबालिकासँग भलाकुसारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी इलामका सभापति टिका ओडारीले जानकारी दिए।

पैदल यात्राका क्रममा उनले फ्यानहरूसँग फोटो खिचाउने मात्र नभई उनीहरूका अपेक्षा समेत सुनेका थिए। बालेनसँग फोटो खिचाउन र हेर्न आएका स्थानीयले परिवर्तनको अपेक्षा राखेको प्रतिक्रिया दिएका थिए।

सभापति ओडारीले भने, ‘अब हामी परिवर्तन चाहन्छौँ, तपाईँलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छौँ, भन्दै स्थानीयले उत्साह थपेका थिए।’

स्थानीयसँगको भलाकुसारी पछि बालेनले पार्टीका उम्मेदवारसँग व्यक्तिगत र आन्तरिक छलफल गरेका छन्। उक्त छलफल आगामी निर्वाचन कसरी जित्ने र चुनावी क्याम्पेनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको रास्वपाले जनाएको छ।

सभापति ओडारी भन्छन्, ‘उहाँको आगमनले चुनावी माहोल धेरै फरक पारेको छ। उम्मेदवारसँग रणनीतिक कुराहरू भएका छन्।’