२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग आउने दाबी गरेका छन् ।
बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नीति र नेतृत्व दुवै परिवर्तन गरेर आजबाट चुनावमा होमिने बताए ।


उनले विधिवत् रूपमा देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर जनतालाई दिनको लागि भावी प्रधानमन्त्री तोकेर जान लागेको बताए । उनले भने, ‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरू गर्दैछ ।’
उनले नेपालको जग मधेश भएकाले सभापति गगन थापाले सर्लाही रोजेको बताए ।
उनले भने, ‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पको साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि सभापतिलाई सर्लाही ४ मा अघि सारेका छौँ ।’
सभापति मधेशबाट निर्वाचित भएर आएपछि मधेशका मुद्दाहरूले प्राथमिकता पाउने उनले बताए ।