सेटिङमा नेपाली नागरिकता दिने लमही इप्रका प्रमुख र वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

होमल्याण्ड खबर

२०८२ माघ १३ गते, सोमबार १४:५५ मा प्रकाशित

भारतीय नागरिकलाई नक्कली कागजात बनाएर नेपाली नागरिकता दिलाएको आरोपमा दाङ राजपुर गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष र इलाका प्रशासन कार्यालय लमहीका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता दिलाइएको थियो ।

जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको मिति सच्याएर २०४१ बनाइ आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता बनाइएको थियो ।

अख्तियारले तत्कालीन इप्रका प्रमुख खवास, वडा अध्यक्ष रामेश्वर, वडा सचिव र कार्यालय सहायक राजेशकुमार कहार र मीना चौधरी र नागरिकता लिने आलम र झुटो सनाखत गर्ने मतियारका रूपमा आएसा जोल्हामाथि मुद्दा चलाएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७५ मंसिर २८ गते ५२-०६-७५-०३८२६ नम्बरको नागरिकता प्रमाणपत्र जारी गरिएको थियो ।