चुनाव आउन ३७ दिनमात्र बाँकी, दलहरूले कहिले ल्याउँदैछन् घोषणापत्र ?

होमल्याण्ड खबर

२०८२ माघ १५ गते, बुधबार ११:०६ मा प्रकाशित

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान गर्ने मिति आउन ३७ दिनमात्र बाँकी छ ।

जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू नयाँ निर्वाचनमार्फत आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न तम्तयार छन् । राजनीतिक दल र उम्मेदवारहरू पनि उम्मेदवारी दर्तासँगै मतदातासमक्ष पुगेर भेटघाट गर्दै मत माग्न थालिसकेका छन् ।

निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्ने तथा सभा सम्मेलन गर्ने मुख्य समय फागुन ३ गतेदेखि मौन अवधि सुरु हुनुभन्दा अघि सम्मलाई छुट्ट्याएको छ । तर पनि उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र छलफल गर्दै मतदाता रिझाउन/फकाउन व्यस्त बनेका छन् ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका रास्वपाका बालेन शाहदेखि कांग्रेसका गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई आफू र आफ्नो पार्टीका उम्मेदवार जिताउने चुनौती र चटारो देखिन्छ । मौखिक आश्वासन र विकासे नारा बोकेर राजनीतिक पार्टी र उम्मेदवारहरू जनतामाझ पुगे पनि अहिलेसम्म जसपा नेपालबाहेक कुनै पनि राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् ।