२२ फाल्गुन २०८२, शुक्रबार
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।
एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन लक्षित सुरक्षा व्यवस्था निर्माण गरिएको बताउनुभयो ।


उहाँले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केही दिनअघिबाटै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबीको संयुक्त गस्ती हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले अस्थायी मतदाताको नामावली सङ्कलन कार्य जारी रहेको उल्लेख गर्दै अस्थायी मतदान केन्द्रका विषयमा निर्णय नभएको बताउनुभयो । अस्थायी मतदाताको करिब ७० प्रतिशत नामावली सङ्कलन भएको शाहीको भनाइ छ । अस्थायी मतदाताले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा मात्रै मतदान गर्न पाउने छन् ।