२३ फाल्गुन २०८२, शनिबार
परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ ।
श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै मृत्यु भएको हो ।


घटनामा मनिताकी अविवाहित २० वर्षीया नन्द रीना कुमारी मण्डल र उनका ५४ वर्षीय ससुरा जगरुप महतो प्रतिकारको क्रममा गम्भीर घाइते भई परवानीपुर एलएस न्युरो अस्पतालमा उपचाररत छन् । हत्याको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–७ बन्जरिया गाउँका २७ वर्षीय धर्मेन्द्र महतोलाईसमेत वीरगन्जबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।
धर्मेन्द्र पनि वैदेशिक रोजगारीबाट केही महिनाअघि घर आएका थिए । ‘प्रारम्भिक अनुसन्धानले मनिताको योजनामा प्रेमी धर्मेन्द्रसहितका केहीसँग मिलेर हत्या गराएकी हुन्,’ प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘घटनाबारे थप सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ घटनाको पृष्ठभूमिसहित थप अनुसन्धान भइरहेको उनले बताए। ‘मनिता र धर्मेन्द्रबीचको सम्बन्धबारे अझै गहिरो रूपमा बुझ्दै छौँ,’ उनले भने । धर्मेन्द्र मनिता माइतीको छिमेकी गाउँका हुन् । मनिताको घर रहरीयाडिह र माइती गाउँ बन्जरिया छिमेकी गाउँ हुन् ।
मनिताकी मृतक सासु सुमित्रा र ससुरा जगरुपका तीन छोरी र एक छोरा छन् । दुई छोरीको विवाह भइसकेको र एक छोरी रीना घाइते अविवाहित भएकाले घरमै थिए। उही एक छोरा रामेश्वर र उनकी सासु सुमित्राको हत्या भएको हो । योजना बनाएर हत्या गराएकी मनिता पक्राउ परेकी घरकी एकलौती बुहारी हुन् । पक्राउ परेकी मनिताकी आफन्त बचियाका अनुसार मनिता गत साउनदेखि न घर न माइतीमा थिइन् ।
गत साउनदेखि दुई छोरी घरमै छाडेर काठमाडौंमा बस्दै आएकी थिइन् । पछि खोजतलास गरेर गत मंसिरमा घरमा ल्याइएको थियो । मनिताका श्रीमान् दुई वर्ष रोजगारीको सिलसिलामा मलेसिया बसेर डेढ वर्षअघि घर फर्की फेरि विदेश जाने योजनामा रहेका बेला घरमा यस्तो बज्रपात परेको उनले बताइन् । बचिया मनिताकी छिमेकी हुन् ।